‘एक घर एक धारा’ले सुधार्यो धम्जावासीको जीवन

बाग्लुङ | कात्तिक १९, २०७९

‘एक घर एक धारा’ले सुधार्यो धम्जावासीको जीवन

 

गलकोट । दुई वर्षअघिसम्म पानीको लागि दुई घण्टा समय छुट्टाउने बागलुङको काठेखोला गाउँपालिका–३ धम्जाका भेषकुमारी भण्डारीको अहिले समय बचत हुन थालेको छ । 


बिहानै कुँवाको पानीलाई पाइपमार्फत जोडेर गाउँमा ल्याएर पानी थाप्ने उहाँको अहिले आँगनमै २४सैँ घण्टा पानी आउने धारो छ । भेषकुमारीले जीवनमा खानेपानीको ‘एक घर एक धारा’ले दैनिक जीवनमै परिवर्तन ल्याएकोे बताउनुभयो । धम्जाका चार गाउँको  तीन सय घरमा खानेपानीको धारा पुगेपछि त्यहाँका बासिन्दमा जीवन यापनमा सुधार भएको हो । 


“बिहानै उठेपछि पानीको जोहोमै लाग्नुपर्दथ्यो, खानेपानीको अवस्था लथालिङ्ग थियो, कुँवाको पानी पाइपबाट ल्याएर खानुपर्ने अवस्था थियो अहिले एक घर एक धाराले परिवर्तन ल्याइदिएको छ”, भण्डारीले भन्नुभयो, “अहिले आँगनमा नै पानीको धारो छ, आवश्यक पर्दा प्रयोग गरे भैगो, समयको बचत हुँदा खेतीपाती र बाख्रा भैँसीलाई समय दिन थालिएको छ ।”


पछिल्लो पाँच वर्षयता गण्डकी प्रदेशको क्रमागत योजनाअन्तर्गत धम्जाका माझकटेरा, द्वारा, ओख्ले, असौजेको केही भागमा गरी तीन सय खानेपानीका धारा जडान गरिएको छ । यस्तै खानेपानीको चरम समस्या रहेको धम्जा गाउँ र सायकेटरा गाउँमा खानेपानीका लागि एक घर एक धारा निर्माण गर्न गण्डकी प्रदेश सरकारबाट यो वर्ष ठेक्का प्रक्रियामा जाने गरी काम अघि बढाइएको काठेखोला गाउँपालिका–३का वडाध्यक्ष कुलबहादुर विकले बताउनुभयो । 


खानेपानीको समस्या र सकस बेहोर्न बाध्य धम्जाका तीन सय घरधुरीमा खानेपानीको पहुँच पुगेपछि विकासको महसुस भएको स्थानीय रिमाकुमारी थापाको भनाइ थियोे । 


खानेपानीको समस्या झेल्दै आएका स्थानीयवासी घरमै धारा आए पछि दङ्ग परेका छन् । पैँतीस वर्षअघि मात्रै खानेपानी आयोजना सञ्चालन भएर सामुदायिक धारा निर्माण गरिएको यस गाउँमा त्यसयता खानेपानीको दुःख झेल्नुपर्ने अवस्था रहेको थियो । 


कतिपयलाई कुँवाको भर र कतिलाई सामुदायिक धारामा घण्टौँ लाइन लाग्नुपर्ने अवस्था रहेकामा  खानेपानी आयोजना सफल भएपछि सहज भएको धम्जा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष चन्द्र भण्डारीले जानकारी दिनुभयो । उक्त आयोजनाअन्तर्गत १० उपआयोजनामार्फत खानेपानी वितरण गरिएको छ । 


“खानेपानीको निकै दुःख रहेको धम्जामा अहिले सहज भएको छ, साविकका दुई गाउँमा मात्रै अहिले खानेपानीका लागि प्रक्रियामा छ”, उहाँले भन्नुभयो, “विभिन्न खानेपानीको मुहानबाट पानीलाई १५ वटा खानेपानीका विभिन्न क्षमताका ट्याङ्की निर्माण गरी घरघरमा खानेपानीका धारा पुर्याइएको हो, अहिले खानेपानीको धारा घरमै पुगेका जनताले आफ्नो दिनचर्या फेरिएको बताए ।”


धम्जामा रु सात करोडको लागतमा तीन सय घरमा खानेपानीको धारा पुर्याएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका सूचना अधिकारी ईश्वरीप्रसाद शर्माले जानकारी दिनुभयो । पानी सङ्कलन गर्न पाँच हजारदेखि ३० हजार लिटर क्षमताको ट्याङ्की, आठ किलोमिटर लामो मुख्य पाइप लाइन तथा २५ किलोमिटर लामो  वितरण लाइनमार्फत घरघरमा खानेपानी पुर्याइएको छ । 


भएका मुहान सुक्दै जाने, मर्मत नहुने लगातारका समस्याका कारण धम्जामा खानेपानीको चरम सङ्कट रहँदै आएकामा विगत दुई वर्षयता एक घर एक धारा निर्माण भएसँगै सहज भएको हो । धम्जाको शिरमा रहेको ढङ्डुले, मथे, आरपानी, बिसौनालगायत १५ मूललाई विभिन्न ट्याङ्कीमा जम्मा गरेर खानेपानी वितरण गरिएको छ । मिटर जडित धाराका कारण खानेपानी खेर जाने सम्भावना न्यून रहेको स्थानीयवासी शिव भण्डारीले बताउनुभयो । 


“खानेपानीको दुःख टर्यो, अहिले पानीका लागि समय व्यवस्थापन गर्न आवश्यक छैन”, उहाँले भन्नुभयो, “खानेपानीको धारमा मिटर जडान गरिएकाले पानीको सही प्रयोग भएको छ ।” 

पोखरा: नेकपा एमालेले कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार बदल्ने निर्णय गरेको छ ।  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि नेकपा एमालेले कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार कृष्ण थाप...

थप पढ्नुहोस्

पोखरा:  राष्ट्रिय स्वतन्त्र पार्टीबाट कास्की–१ मा खड्कराज पौडेल (गणेश) र चुनाव लड्ने भएका छन् । बालेन्द्र साह हुँदै रास्वपा प्रवेश गरेका उनी अहिले केन्द्रीय सदस्य हुन् । टिकट पाएसँगै पौडेलले आफ्नो उम्म...

थप पढ्नुहोस्

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अहिलेसम्म ३३ निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । बाँकी निर्वाचन क्षेत्रमा आज उम्मेदवारको घोषणा गरिने पार्टीका...

थप पढ्नुहोस्